भाषाशास्त्री डा. योगेन्द्र प्रसाद यादव केर एक महत्वपूर्ण आलेख मैथिली पर नेपाली मे

समकालीन मैथिली भाषा : परिवेश र विशेषता

प्रा‍. डा. योगेन्द्रप्रसाद यादव

पृष्ठभूमि

.     नामकरण

भाषाको नामबाटै मैथिली यथार्थमा मिथिलाको भाषा हो भन्ने स्पष्ट हुन्छ । मिथिलालाई राजा जनकद्वारा शासित प्राग्‍ऐतिहासिक प्राचीन राज्य र जनकपुत्री तथा रामकी पत्‍नी सीता (जानकी) को जन्मस्थल मानिएको छ । प्राचीन कालमा मिथिला एउटा प्रसिद्ध बौद्धिक केन्द्रका रूपमा स्थापित थियो । त्यस अवधिमा यस केन्द्रमा भारतवर्षभरिबाट विद्वान्‍हरू उपलब्ध तर्कशास्त्र तथा दर्शनशास्त्रबाट प्रशिक्षित हुन आइरहन्थे। यस केन्द्रद्वारा मानवीय चिन्तनको इतिहासमा केही उच्चतम बौद्धिक अन्तरक्रियाको आतिथ्य प्रदान गरिएको तथ्यको उल्लेख पाइएको छ ।

मिथिलालाई तैरभक्ति  नामबाट पनि चिन्ने गरिन्थ्यो । यो भारतको विहार प्रान्तअन्तर्गत दरभङ्गा र मुज्जफरपुर जिल्ला सम्मिलित तिरहुत  प्रखण्डको प्राचीन नाम हो । आधुनिक मिथिला राजनैतिक रूपमा दुई पृथक् स्वतन्त्र राष्ट्र (भारत र नेपाल) मा विभाजित देखिए तापनि दुवै राष्ट्रका मैथिली भाषा-भाषी समुदायका बीच भौगोलिक निकटता र नियमित सम्पर्कले गर्दा अहिलेसम्म एउटा अविभाज्य सांस्कृतिक अस्तित्व विद्यमान रहेको छ । तसर्थ मैथिली भाषा बोल्ने भाषिक समुदाय दुई देश (नेपाल र भारत) मा विभक्त भए पनि खुला सिमाना, पारिवारिक सम्बन्ध, सांस्कृतिक समानता आदिका कारण एउटा देशका भाषिक समुदायका मानिसहरू अर्को देशमा आवतजावत गर्ने भएकाले उक्त भाषा दुबै देशमा बोलिने हुँदा यस भाषालाई ‘अन्तरसीमावर्ती भाषा’ (cross-border language) भनिएको छ (यादव २०११)। यस भाषाका लागि मुख्यत: ‘मैथिली’ शब्द प्रयोग हुने गरेको भए पनि यदाकदा तिरहुतिया, देहाती, ठेंठी, अवहट्ठ वा अपभ्रंश आदि पर्यायवाची शब्दबाट समेत सम्बोधन गर्ने गरिएको पाइन्छ ।

.     पारिवारिक सम्बन्ध

ग्रियर्सन (१९८१, १९०३) र अन्य विद्वान्‌हरूका अनुसार भारोपेली भाषा परिवारको भारत-इरानेली शाखा अन्तर्गत भारतीय-आर्य भाषा उपपरिवारको पूर्वी समूहमा मैथिली भाषा पर्दछ । यस दृष्टिकोणले मैथिली भाषा पूर्वी समूहमा पर्ने असमी, बङ्गाली र उडिया भाषासँग बढी निकट रहेको तर पश्चिमी समूहमध्येमा पर्ने हिन्दी र नेपाली भाषाभन्दा स्वत: भिन्न देखिएको छ । तसर्थ हर्नले (१८८० ई.) सदृश अन्य विदेशी भाषाशास्त्रीहरू तथा हिन्दीका अन्धप्रेमीहरुद्वारा मैथिलीलाई हिन्दीका विहारी अथवा पूर्वी भाषिकाको रूप मा प्रचारित गर्नु सर्वथा भ्रामक हो।

चटर्जी (१९२६/१९७० पुनर्मुद्रित) अनुसार मैथिली मगधी-अपभ्रंश समूहमा पर्दछ जसको विकास-क्रम यस प्रकार रहेको छ: प्राचीन भारतीय-आर्य भाषाहरू (२५०० ई.पू.-५०० ई.पू.) < वैदिक संस्कृत < लौकिक संस्कृत < मध्य भारतीय-आर्य भाषाहरू (५०० ई.पू.-१००० ई.प.) < प्राचीन प्राकृत (पाली: (५०० ई.पू.- १०० ई.पू.) < मध्य प्राकृत (१०० ई.पू.-५०० ई.प.) < अपभ्रंश (नव प्राकृत (५०० ई.प.- ९०० ई.प.) < अवहट्ठ (नव क्षेत्रीय प्राकृत (९०० ई.प.- ११०० ई.प.) < नव-मगधी प्राकृत < मैथिली (१००० ई.प.)।

.     भौगोलिक वितरण र जनसङ्ख्या

मैथिली मातृभाषीहरूको बसोबास  भारतीय सीमानासङ जोडिएको नेपालको पूर्वी-दक्षिण भागमा मुख्यत: पाईन्छ। यो भाषा नेपालका ७ जिल्लाहरू (धनुषा, सिरहा, महोत्तरी,सप्तरी, सर्लाही, सुनसरी र मोरङ)मा मुख्यत: बोलिन्छ। यी क्षेत्रहरूमा मैथिली मातृभाषा, दोस्रो/सम्पर्क भाषाका रूपमा प्रयोग हुन्छ तथा मैथिली मातृभाषीहरूले सामान्यत: हिन्दी सम्पर्क भाषाका रूपमा प्रयोग गरको पाईन्छ (जनगणना २०६८)। शिक्षा, आवागमन, श्रव्य-दृश्य माध्यम, विभिन्न भाषाभाषीबीच बढ्दो सम्पर्कको विस्तारले गर्दा मैथिली भाषाभाषीहरूमा अस्थिर द्वि-/बहुभाषिकता पाईन्छ।

जनगणना २०६८ अनुसार माथि उल्लेखित ७ जिल्लामा मातृभाषा र दोस्रो भाषाको रूपमा मैथिली भाषाभाषीहरूको वितरण तालिका १ मा प्रस्तुत गरिएको छ:


यस अतिरिक्त नेपालको मध्य तराई, काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरूमा पनि मैथिली मातृ/दोस्रोभाषीहरूको बसोबास पाईन्छ। समग्रमा जनगणना २०६८ अनुसार मैथिली मातृभाषी र दोस्रो भाषाभाषीको कुल जनसङ्ख्या क्रमश: ३०,९२,५३० (११.६७%) र १,९५,२८७ (०.७३%) पाईएको छ (यादव २०१४ ई.)। ४४.६% ले बोलिने पहिलो स्थान ओगेटेको नेपाली भाषापछि यो भाषा नेपालको दोस्रो भाषाको रूपमा रहेको छ। अघिल्लो जनगणना (२०५८) को तथ्याङ्कसँग तुलना गर्दा मैथिलीभाषीहरूको सङ्ख्यामा बृद्धि भए पनि प्रतिशतमा ह्रास आएको देखिन्छ, जस्तो: २,८००,००० (१२.३%; २०५८) र ३,०९२,५३० (११.७%; २०६८) । मैथिलीभाषीमा सङ्ख्यात्मक बृद्धि देखिएको पनि प्रतिशत कम हुनुको कारण पता लगाउन थप अध्ययनको खाँचो छ तर सरसर्ती हेर्दा यसको प्रमुख कारणमा केही स्थानीय भाषाका वक्ताहरूमा आएको वृद्धि हुन सक्छ । नेपाल र भारतमा मैथिलीभाषीहरूको अनुमानित तथ्याङ्कका आधारमा मैथिलीले विश्वमा बोलिने भाषाहरूमध्ये ४०औं स्थान ओगेटेको छ

नेपालमा मैथिली भाषाभाषीहरूको वितरण निम्न नक्शामा देखाइएको छ:

.२     प्रयोग क्षेत्र

.२.१ प्रशासन

नेपालको संविधान (२०७२)को धारा ६ अनुसार नेपालमा बोलिने अन्य मातृभाषाहरूजस्तै मैथिलीलाई पनि एउटा राष्ट्रभाषाको मान्यता प्रदान गरिएको छ। धारा ७ को दफा २ अनुसार नेपाली अतिरिक्त मैथिली बहुसंख्यक जनताले बोलिने प्रदेशमा यो भाषा उक्त प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन सकिन्छ।

भारतीय संविधानको ९२औं संशोधन (२००३) ले अन्य २५ भाषाहरूसँगै मैथिली पनि आठौं अनुसूचीमा समाविष्ट गरिएको छ।

..२ शिक्षा र सञ्‍चार

नेपाल र भारत दुवै राष्ट्रमा शिक्षाका क्षेत्रमा विद्यालयदेखि विश्वविद्यालय तहसम्म मैथिलीको पठन-पाठन ऐच्छिक विषयको रूपमा भएको पाइन्छ । हाल नेपालमा बहुभाषिक शिक्षा कार्यक्रम अन्तर्गत शिक्षामा गुणात्मक अभिवृद्धिका लागि प्राथमिक शिक्षा र वयस्क साक्षरता तहमा केही अन्य भाषाहरूजस्तै मैथिलीलाई पनि शिक्षाको माध्यमका रूपमा कार्यान्वयन गर्ने नीति र कार्यक्रम बनाइको छ। यसकालागि पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको प्राथमिक तह (कक्षा १ देखि ५ सम्म)मा मैथिली पठन-पाठनका निमित्त पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको निर्माण गरेको छ। नेपालमा सञ्चालित बहुभाषिक शिक्षा कार्यक्रम अन्तर्गत मैथिली भाषालाई प्राथमिक शिक्षामा कार्यान्वयन गर्न मैथिली भाषी समुदायमा सचेतना वृद्धि गर्नका लागि मैथिलीमा सामग्री निर्माण पनि गरेको छ (शिक्षा मन्त्रालय तथा युनेस्को २००९ ई.) ।

मैथिलीभाषीहरूको सर्वेक्षणअनुसार यस भाषाको प्रयोग समाचारपत्र, फिल्म र आम सभामा अत्यधिक भइरहेको तथ्याङ्क उपलब्ध छ । यस अतिरिक्त मैथिलीलगायत हिन्दी टिभी कार्यक्रम हेर्न र सुन्न मैथिलीभाषाभाषीहरू रूचाउँछन् (यादव २००८ ई.)।

.२.३ सामाजिक सन्दर्भ

नेपाल र भारत दुबै मुलुकमा आफ्नो समुदायमा पारिवारिक क्षेत्रका सबै सन्दर्भमा मैथिली भाषाको प्राथमिकताका साथ प्रयोग हुन्छ (यादव १९८९: २२५) । हालसालै गरिएको एक अध्ययन (यादव र महतो २०१२) अनुसार अधिकांश सूचक (८४%-८८%)ले गणना, गीत, ख्यालठट्‍टा, किनबेच, कथावाचन, छलफल, प्रार्थना आदि परिवेशमा यस भाषाको प्रयोग गर्दछन् । विवाहको निमन्त्रणमा मात्र मैथिलीसँगै हिन्दी र नेपालीको मिश्रित प्रयोगले आमन्त्रित पाहुनाहरूसँगको कुराकानी सहज हुन्छ ।  गालीगलौजमा पनि मैथिलीसँगै हिन्दीको समेत प्रयोग हुन्छ । यस क्षेत्रमा हिन्दी/उर्दू तथा नेपालीभाषीहरूसँग सम्पर्क गर्दा मैथिली भाषाको प्रयोग सम्पर्क भाषाका रूपमा हुन्छ। नेपालको संघीय पद्धतिमा यस भाषालाई प्रादेशिक प्रशासनको माध्यम बनाउनेतिर दर्बिलो प्रयास भइरहेको छ । तर तराई र अन्य क्षेत्रका मानिससँग सम्पर्क गर्नु पर्दा व्यापक सञ्चारकालागि हिन्दीको प्रयोग गरिन्छ ।

३. भाषावैज्ञानिक अध्ययनको सर्वेक्षण

मैथिली भाषाको भाषावैज्ञानिक अध्ययनको परम्परा एक शताब्दीभन्दा केही अघिदेखिको रहिआएको छ। सर्वप्रथम बेलीगट्टीको भारतीय भाषाहरूको सूची सन्निहित कृति (१७७१ ई.) मा मैथिली (अथवा तिरहुतिया) को उल्लेख रहेको कुरा अमाडुज्जीले ‘प्राक्कथन’ मा चर्चा गरेका छन् । त्यसपछि कोलब्रुक (१८०१ ई.) ले मैथिलीलाई एउटा पृथक् भाषाका रूपमा स्थापना गरे । सम्प्रेषणको सुविधालाई ध्यानमा राखी मैथिलीका विषयमा गरिएको भाषावैज्ञानिक अध्ययनलाई निम्न उपशीर्षकअन्तर्गत प्रस्तुत गरिएको छ: समाज-भाषाविज्ञान, ऐतिहासिक/तुलनात्मक भाषाविज्ञान, शब्दकोश-निर्माण, ध्वनि-विज्ञान, तथा व्याकरण ।

३.१     समाजभाषावैज्ञानिक जानकारी

नेपाल-भारतका अन्तरसीमावर्ती भाषा भएकोले नेपाल र भारतमा बोलिने मैथिली भाषामा क्षेत्रीय भिन्नता हुनु स्वभाविक हो। त्यसैले ‘नेपालीय’ र ‘भारतीय’ मैथिली भाषिका भइको चर्चा पनि गरिएको पाईन्छ (मौन)। यस अतिरिक्त बढी प्रभावशाली हिन्दी र नेपाली भाषाहरूको निरन्तर सम्पर्कबाट प्रभावित भएका कारण मैथिली भाषामा कतिपय भाषिक भिन्नता पाइएकोछ। झा (१९५८:५-६) अनुसार भारतमा यस भाषाका सातवटा क्षेत्रीय/सामाजिक भाषिकाहरू छन्: स्तरीय, दक्षिणी, पूर्वी, छिकाछिकी, पश्चिमी, जोलही र केन्द्रीय बोलचालको (कथ्य) भाषिका । यी मध्ये स्तरीय भाषिका मधुवनी र दरभङ्गा जिल्लाहरूमा बोलिन्छ । अद्यावधि भारतीय मैथिलीका सामाजिक भाषिकाहरूको पृथक् अध्ययन भएको पाइँदैन। तर जात\जाति, लिङ्ग, शिक्षा, वक्ता-श्रोता अन्तरसम्बन्ध आदिका आधारमा यस भाषाको उच्चारण, शब्द र व्याकरणमा स्पष्टत: भिन्नता देखिन्छ । नेपालमा सम्पन्न एउटा प्रारम्भिक अध्ययन अनुसार नेपालमा बोलिने मैथिली भाषाका तीनवटा क्षेत्रीय भाषिकाहरू छन्: पूर्वीय (मोरङ र सुनसरी जिल्लामा बोलिने), केन्द्रीय (सप्तरी, सिरहा, धनुषा र पूर्वी महोत्तरी जिल्लामा बोलिने) र पश्चिमी (पश्चिमी महोत्तरी, सर्लाही र पूर्वी रौतहट जिल्लामा बोलिने) ।

समाजभाषावैज्ञानिक क्षेत्रमा मैथिली भाषाबारे धैरे न्यून अध्ययन भएको पाइन्छ । सम्प्रति समाजभाषावैज्ञानिक सर्वेक्षणका क्षेत्रमा दुईवटा मुख्य कार्यहरू उपलब्ध छन् । पहिलो कृति Hugoniot (1997) मा भारतमा बोलिने मैथिली भाषाको स्तरीय र सामान्य भाषिकाको तुलनात्मक अध्ययन गरिएको छ । यस अध्ययनले भाषिकाहरूका बीचको भिन्नता मुख्यत: सामाजिक र भौगोलिक कारणले पाइएको तथ्य औंल्याएकोछ । सामान्यत: मैथिलीका भाषिकाहरूमा भौगोलिक भेदभन्दा जातिगत भेद बढी पाइन्छ । नेपाल र भारत दुबै देशमा बोलिने मैथिली भाषामा यी भाषिकाहरूबीच  प्रकार्यात्मक बोधगम्यता रहेको पाइन्छ (Hugoniot१९९७ ई.; यादव र महतो २०१२ ई.)। समाजभाषावैज्ञानिक अध्ययनको दोस्रो कार्य यादव र महतो (२०१२) ले सम्पन्न गरेका छन् । यस अध्ययनमा नेपालमा बोलिने मैथिली भाषाको भाषिका निर्धारण, प्रयोग क्षेत्र, वितरण, स्तरीकरण आदि पक्षबारे स्थलगत अध्ययनका आधारमा सामग्री सङ्कलन गरी ती सामग्रीको विश्लेषण गरिएको छ । हुन त यसरी निर्धारित भाषिकाहरू मूलत: अनुमानमा आधारित भएकाले यसको वैज्ञानिक निरूपणका लागि उच्चारणगत, शाब्दिक, रूपात्मक र व्याकरणिक तहमा विश्लेषण गर्नु आवश्यक देखिन्छ ।

३.२ ध्वनि विज्ञान

३.२.१ वर्णानात्मक अध्ययन

मैथिली भाषाको वर्ण व्यवस्था तथा एकर ऐतिहासिक विकासको अध्ययन गरेको प्रथम श्रेय सुभद्र झा (१९४१) लाई जान्छ।गोविन्द झा (१९७४ ई.)ले पनि यस विषयको अध्ययन प्रस्तुत गरेका छन्।यस सन्दर्भमा, मैथिलीको वर्ण व्यवस्थाको विस्तृत अध्ययन रामावतार यादव (१९७६,१९८४)ले गरेका छन्।यस कार्यलाई सुनील कुमार झा (१९८४) अझ अगाडि बढाएका छन्।

३.२.२ सैद्धान्तिक अध्ययन

मैथिली वर्ण व्यवस्थाको प्रथम सैद्धान्तिक अध्ययन मिश्र (२००६) द्वारा गरिएको पाईन्छ। यस अध्ययनमा Optimality Theory को आधारमा मैथिलीको अक्षर संरचना आर बलाघात पद्धतिको विश्लेषण गरिएको छ।

३.३ ऐतिहासिक तुलनात्मक भाषाविज्ञान

सुभद्र झा (१९५८ ई.) ले मैथिली भाषाको विकासको विस्तृत वर्णन प्रस्तुत गरेका छन् । यस कृतिमा उनले कथ्य र लिखित मैथिलीका प्रचुर उदाहरणका आधारमा पूर्व-भारतीय-आर्य कालदेखि वर्तमान समयसम्मको मैथिली भाषाको क्रमिक विकासको वर्णन गरेका छन्। मैथिली भाषाको इतिहासको अध्ययनका सन्दर्भमा दोस्रो महत्त्वपूर्ण कार्य गोविन्द झा (१९६८ ई.) द्वारा भएको छ ।

अन्य भारोपेली भाषाहरूका तुलनामा मैथिलीको चर्चा सर्वप्रथम कोलब्रुक (१८०१ ई.) ले गरेका छन् । मसीका (१९९१ई.) द्वारा लिखित ‘भारतीय-आर्य भाषाहरू’ (The Indo-Aryan Languages) लाई मैथिली लगायत अन्य भारतीय-आर्य भाषाहरूको समकालीन र ऐतिहासिक अध्ययनका क्षेत्रमा एउटा विशिष्टि कृति मानिन्छ।

३.४ शब्दकोश-निर्माण

मैथिली भाषामा शब्दकोश-निर्माणको लामो परम्परा रहेको पाइन्छ । ज्योतिरीश्वर कवि शेखराचार्यद्वारा लिखित प्रथम गद्यात्मक कृति वर्णरत्‍नाकरलाई  यस क्षेत्रको पहिलो प्रयास मानिएको छ ।

यो कृति रचना भएको धेरै समयपछि ग्रियर्सनले मैथिली भाषाको शब्दकोश-निर्माण गर्ने कार्यको पु:न थालनी गरे । सन् १८८२ ई. मा उनले मैथिली भाषाको शब्दावली (vocabulary) प्रकाशित गरे । यस ग्रन्थमा विहारका किसानहरूले प्रयोग गर्ने शब्द-सूची पाइन्छ । यसपछि हर्नले र ग्रियर्सन (१८८५ ई. १८८९ ई.) ले संयुक्त रूपमा ‘विहारी भाषाको तुलनात्मक शब्दकोश’ (A Comparative Dictionary of the Bihari Language) शीर्षकको पुस्तक तयार गरे । यसका केही भागमात्रै प्रकाशनमा आएका छन् ।

यसका अतिरिक्त दीनबन्धु झा (१९५० ई.) को मिथिला भाषा कोशलाई यस क्षेत्रको एउटा महत्त्वपूर्ण योगदान मानिन्छ । १९७३ ई. मा मैथिली शब्दकोश निर्माणमा दुईवटा प्रयास भएका छन् –पहिलो ट्रेल (१९६३ ई.) को मैथिलीलगायत विभिन्न भाषाहरूका शब्दहरूको तुलनात्मक सूची तथा दोस्रो मिश्र (१९६३) को व्युत्पत्तिमूलक शब्दकोश । मिश्र (१९७३) द्वारा आरम्भ गरिएको बृहत् मैथिली- अङ्ग्रेजी शब्दकोश  मैथिली भाषाको अध्ययनमा एउटा उल्लेखनीय योगदान हो । यो कृति ‘अक्सफोर्ड अङ्ग्रेजी शब्दकोश’ (Oxford English Dictionary) मा आधारित ऐतिहासिक सिद्धान्तअनुसारको व्युत्पत्तिमूलक शब्दकोश हो । अहिलेसम्म यसका तीनवटा खण्ड मात्र प्रकाशित भएका छन् । डेभिस (१९८४ ) को आधारभूत मैथिली शब्दकोशमा मैथिली शब्दहरू तथा तिनका नेपाली तथा अङ्‍ग्रेजी समानार्थी शब्दहरू समाविष्ट छन्। नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानद्वारा तयार गरिएको पर्यायवाची शब्दकोश(२०३० वि.सं.)मा पनि मैथिलीलगायत नेपालका १४ वटा भाषाका पर्यायवाची शब्दहरू सम्मिलित गरिएका छन्।[1] झा (१९९२) ले  मैथिली शब्दकोशको निर्माण गरेका छन् । त्यसैगरी झा (१९९९) ले कल्याणी कोश नामक द्वैभाषिक मैथिली-अङ्ग्रेजी शब्दकोशको सम्पादन गरेका छन् । हाल यादव (निर्माणाधीन) द्वारा Toolbox software को प्रयोग गरी तयार गरिदै नेपाली-मैथिली-अङ्‍ग्रेजी बहुभाषिक शब्दकोश (नेपाली र अङ्‍ग्रेजी शब्दावलीसहित) नेपाल प्रज्ञा-प्रतिष्ठानको भाषा विभागअन्तर्गत सम्पादन भइरहेको छ ।

४.३ व्याकरण

हर्नले (१८८० ई .) लाई मैथिली व्याकरणका प्रवर्तक मान्न सकिन्छ । व्याकरणिक रूपहरूको केही दृष्टान्तका आधारमा हर्नलेले मैथिलीलाई हिन्दी भन्दा भिन्न भाषाका रूपमा स्थापित गरे, यद्यपि मैथिली व्याकरणको गहन अध्ययनको श्रेय ग्रियर्सन (१८८३ ई.) लाई दिन सकिन्छ । आफ्नो ग्रन्थमा ग्रियर्सनले मैथिली भाषाको तत्कालीन स्तरीय भाषिकाको बृहत् व्याकरण प्रस्तुत गरेका छन् । यस अवधिमा मैथिली व्याकरणसम्बन्धी अन्य महत्त्वपूर्ण कृतिहरू ग्रिएर्सन (१८८३ ई., १९०३ ई.) र केलौग (१८९३ ई.) द्वारा लेखिएका छन् ।

मैथिलीको सबैभन्दा पुरानो व्याकरण मैथिलीभाषी विद्वान्‍ दिनबन्धु झा (सम्भवत: १९४६ ई.) द्वारा लेखियो। यस कृतिमा संस्कृत व्याकरणको पाणिनि व्याकरणका शैलीमा मैथिली व्याकरणका नियमहरू सूत्रबद्ध गरिएका छन् । त्यसपछि, गोविन्द झा (१९७९ ई.) द्वारा मैथिली भाषालाई आधुनिक भाषावैज्ञानिक दृष्टिकोणले विश्लेषण गर्ने प्रयास गरिएको छ ।

डेभिस (१९७३ ई.) र विलियम्स (१९७३ ई.) का कृतिहरूलाई आधुनिक भाषावैज्ञानिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । उनीहरूले नेपालको तराई क्षेत्रको स्थलगत निरीक्षणबाट मैथिली वाक्यहरूको सङ्कलन गरी भाषाविज्ञानको रूपार्थपरक पद्धति (Tagmemic Model) का आधारमा तिनको विश्लेषण गरे । त्यसपछि, मैथिली वाक्यहरूको रूपान्तरणात्मक-प्रजनक व्याकरण (Transformational-Generative Grammar; Chomsky 1981) को ढाँचा अन्तर्गत विश्लेषण गर्ने प्रयास पनि भएको छ ।  यस सन्दर्भमा पहिलो कृति सिंह (१९७९ ई.) द्वारा तयार गरिएको छ । उनले रूपान्तरण व्याकरणको सम्बन्धपरक व्याकरण (Relational Grammar) को ढाँचाअनुसार मैथिली वाक्यहरूको विश्लेषण गरेका छन्। यसबाहेक यादव (१९८३ ई., १९९८ ई.) ले मैथिलीका वाक्यात्मक पक्षहरूको अन्वेषण गरी विश्वकै सर्वाधिक प्रभावशाली भाषावैज्ञनिक नोम चौम्स्कीद्वारा प्रतिपादित रूपान्तरणात्मक-प्रजनक व्याकरणको नवीनतम  ‘शासन तथा बन्धन सिद्धान्त’ (Government-Binding Theory) मा आधारित रही मैथिली वाक्यविन्यासको अध्ययन गर्ने प्रयास गरेका छन्। मैथिली व्याकरणका सम्बन्धमा बर्गहार्ट (१९९२ ई.) को योगदान महत्त्वपूर्ण रहेको छ । आफ्नो (अहिलेसम्म अप्रकाशित) कृतिमा उनले विभिन्न सामाजिक परिवेशमा प्रयुक्त कथ्य मैथिली भाषाको बृहत् वर्णन प्रस्तुत गरेका छन् । यो कृति मैथिली भाषाको भाषावैज्ञानिक अध्ययन गर्नुका साथै विदेशीहरूलाई मैथिली भाषा सिकाउने प्रयोजनबाट समेत निर्देशित छ । भर्खरै यादव (१९९६ ई.) को मैथिलीको सन्दर्भ व्याकरण (A Reference Grammar of Maithili) प्रकाशित भएको छ । यस ग्रन्थमा मैथिली भाषाको वर्णव्यवस्था, रूप व्यवस्था तथा वाक्य-व्यवस्था लगायत सम्बन्धित अन्य विषयहरूको विस्तृत वर्णन गरिएको छ ।

४.६ लिपिस्तरीकरण र भाषा प्रसोधन

मैथिली भाषाको लेख्य परम्परा निकै लामो छ । यसको फलस्वरूप ठूला साहित्यकारहरूद्वारा प्रयोग गरिएको भाषालाई स्तरीय मान्ने परिपाटी कायम छ । यसका अतिरिक्त मैथिलीमा समृद्ध शब्दभण्डार विद्यमान छ र स्तरीय शब्दकोश र व्याकरण लेखिएका छन् । भिन्न वर्ग र क्षेत्रका मैथिली भाषाभाषीहरूबाट भिन्न भिन्न किसिमको मैथिलीको प्रयोग गर्ने गरिएको हुँदा यस भाषाको मानक भेद स्थापित गर्ने प्रयास समेत हुँदै आएको  छ। सम्प्रति व्यक्तिगत र संस्थागत स्तरमा मैथिली शब्दहरूको वर्णविन्यासमा सुधार गर्ने प्रयास भइ रहेको छ  ।

मैथिली भाषाको आफ्नो लिपि मिथिलाक्षर वा तिरहुतिया हो जसको उद्‍गम र विकास ब्राह्मी लिपि (ईशापूर्व तेस्रो शताब्दीको अशोक अभिलेखहरूमा आधारित) बाट बङ्गाली लिपि हुँदै भएको छ ।२ मैथिली भाषाका पूर्वलिखित साहित्यमा यस लिपिको प्रयोग भएको पाइन्छ । मिथिलाक्षरका अतिरिक्त कैथीलिपिको प्रयोग कायस्थ जातिका शिक्षित व्यक्तिहरूबाट सरकारी र निजी स्तरको अभिलेख राख्‍नका लागि गरिएको पाइन्छ । वर्तमान समयमा यी दुवै लिपि प्राय: (अति सीमित प्रयोगबाहेक) लोप भइसकेका छन् । यसको स्थान अहिले हिन्दी, नेपाली र केही अन्य भारोपेली तथा भोट-बर्मेली भाषाहरूमा प्रचलित देवनागरी लिपिले ग्रहण गरेको छ । मैथिलीमा देवनागरी लिपिको प्रचलन भाषा सिकाइ, टङ्कणको सुविधा तथा सम्भवत: हिन्दीको लेख्य परम्पराको प्रभावका कारण भएको हुन सक्छ । यस लिपिमा अधिकांश अक्षरहरू व्यतिरेकी वा वार्णिक (distinctive or phonemic) भए पनि केही यस्ता हुँदैनन्। उदाहरणका लागि, देवनागरी लिपिमा लघु तथा दीर्घ स्वर वर्णको व्यतिरेक (/ई, उ/ऊ इत्यादि) उपलब्ध भए तापनि मैथिलीमा संस्कृत वा नेपालका कतिपय भाषाहरूमा जस्तो लधु/दीर्घ स्वरवर्णहरूको व्यतिरेक पाइँदैन । अर्थात् मैथिलीमा लघु स्वर वर्ण मात्र छ, दीर्घ छैन। सम्प्रति विदेहक प्रयासले भारत र नेपालका मैथिली भाषा-वैज्ञानिकहरूबाट तयार पारिको मानक शैली प्रयोगमा आउन लागेको छ ( manak-maithili.blogspot.com/2009/07/blog-post.html)।

हुन त वर्तमान समयमा मैथिली भाषामा प्राय: सम्पूर्ण रूपमा देवनागरी लिपिको प्रयोग प्रचलनमा आइसकेको छ, तर मिथिलाक्षर अथवा तिरहुता लिपिको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई बिर्सन सकिंदैन। तसर्थ, आजको सूचना प्रविधिको युगमा कम्प्युटरमा देवनागरी सँगसँगै मिथिलाक्षर लिपि पनि उपलब्ध हुनु पर्छ । यस आवश्यकतालाई ध्यानमा राखेर नेपाली युनिकोडमा आधारित मिथिलाक्षर ‘जानकी’ फन्टको निर्माणको व्यवस्था मदन पुरस्कार पुस्तकालयबाट गरिएकोछ (यादव तथा अन्य २००८)।

हालमा मिथिलाक्षर लिपिको यूनीकोकोडिकरणका लागि केहि प्रयास गरिएका छन् (हेर्नुहोस् लिंक) भाषा सञ्चार परियोजनामा जानकी कन्भर्टर फोन्टको विकास गरिएको छ। केन्द्रीय भाषा संस्थान,मैसूर (भारत) मैथिलीलगायत भारतीय प्रमुख भाषाहरूको पाठसङ्ग्रहमा संलग्न रहेको छ।

मुख्य भाषिक विशेषता

यस खण्डमा विभिन्न भाषिक तहमा मैथिली भाषाका मुख्य प्रकारात्मक विशेषताहरूको चर्चा गरिएको छ । मैथिली भाषा अन्य (खास गरेर भारतीय-आर्य) भाषाहरूबाट कुन रूपमा समान र फरक देखिन्छ भन्ने कुरा देखाउन यसका व्याकरणिक विशेषताहरूलाई तुलनात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

  • मैथिली भाषामा २६ वटा व्यञ्जन र १० वटा मौखिक स्वर वर्णहरू छन्। देवनागरी लिपिमा ह्रस्व र दीर्घ स्वरको अन्तर रहे पनि मैथिलीमा यो अन्तर पाइँदैन। यस सन्दर्भमा मैथिली नेपाली सदृश तथा हिन्दी भन्दा भिन्न छ । यस अतिरिक्त, आठैवटा स्वर वर्णहरू नासिक्य (nasalized) हुन सक्छन् । मैथिलीमा आठवटा मौखिक स्वरवर्णका अतिरिक्त आठवटा नासिकीकृत स्वर वर्णहरू पनि छन्। यसप्रकार, मैथिलीमा व्यञ्जन र मौखिक तथा नासिक्य स्वरवर्णहरू सबै मिलाएर ४२ वटा वर्णहरू पाइन्छन् । यस भाषामा केही संयुक्त स्वरवर्ण (diphthongs\ triphthongs) पनि पाइन्छन् । यहाँ ती सबैको चर्चा गरिएको छैन।
  • मैथिली व्याकरणको सबभन्दा बढी आकर्षक पक्ष यसको क्रियाको अत्यन्त जटिल रूप-प्रक्रिया हो । अन्य भारतीय-आर्य भाषाहरूजस्तो मैथिलीको क्रिया रूपावली (paradigm) बहुरूपिमिक (polymorphemic) हुन्छ। यो अनेकौं रुपिमहरूबाट बनेको हुन्छ जो प्राय: क्रियाको धातुका देब्रेपट्टि जोडिएका हुन्छन् (मसिका, १९९१ ई.:२५७)। क्रियात्मक सर्गहरूले पुरुष, वचन, लिङ्ग र कर्ता र कर्मको आदरार्थी चिन्हित गर्छ; यसको संरचनालाई निम्न नियमका रूपमा प्रस्तुत गर्न सकिन्छ: क्रिया धातु (पक्ष) (प्रत्यय रह) (पक्ष प्रत्यय) (स.क्रि.) काल मेल (मेल) (मेल)
  • धेरै भारतीय-आर्य र भोट-बर्मेली भाषाहरूजस्तै मैथिली पनि सर्वनाम-लोपी भाषा हो ।
  • मैथिलीमा दुई किसिमले प्रेरणार्थक क्रियाको निर्माण हुन्छ, जस्तो ‘काट’ – (१) ‘कटा’ (अरूबाट कटाउनु र (२) ‘कटबा’ (कुनै व्यक्तिद्वारा अन्य व्यक्तिबाट कटाउनु)
  • अन्य दक्षिण एशियाली भाषाहरूजस्तै मैथिलीमा पनि क्रियाको विस्तार अन्य प्रक्रियाबाट हुन सक्छ । यो प्रक्रिया हो ‘संयुक्त क्रिया संरचना, अथवा ‘क्रमिक क्रिया संरचना’ (Serial Verb Construction) । संयुक्त क्रियामा एउटा मुख्य क्रिया संयुक्त कृदन्त (conjunctive participle) का रूपमा रहन्छ र यसलाई ‘आतिथेय’ (host) भन्न सकिन्छ ।
  • क्रिया सङ्गतिको रूप व्यवस्था जस्तै मैथिलीको सर्वनाममा पुरूष, आदरार्थी भाव, दूरी तथा कारकका आधारमा भिन्नता पाइन्छ।
  • आदरवाचक तहको भिन्नता सर्वनाममा मात्रै सीमित नभएर व्यक्तिवाचाक नाममा पनि हुन्छ।
  • नामसँग प्रयुक्त हुने अर्को व्याकरणीय विशेषता वचन हो, तर यो कोटि नामसँग पूर्णरूपले व्याकरणीय कोटि बन्न सकेको छैन। बहुवचन प्रत्यय-सभ वा-लोकनि आदरार्थी नामसँग पाइन्छ (सिंह १९८९ ई.:८८)।
  • मैथिली नाममा व्याकरणीय लिङ्ग रुपिम र वाक्यात्मक दुवै कोटिमा अत्यधिक सीमित भएको पाइन्छ।
  • अन्य दक्षिण एसियाली भाषाहरूमाजस्तै मैथिलीमा नामको कारकीय व्यवस्था समृद्ध रहेको छ । यस भाषामा तीन प्रकारक विभक्ति हुन्छन् :- धातु (?बद्ध) रूपिम, आबद्ध रूपिम (clitics) र (+परसर्ग (postposition) ।
  • नेपाली र हिन्दीभन्दा फरक मैथिली ऊर्जावत्त्व (ergativity) नभएको भाषा हो।
  • मैथिली (सकर्मक) वाक्यमा आउने घटक-क्रम सामान्यतया कर्ता-कर्म-क्रिया रहन्छ, जस्तो: राम (कर्ता) किताब (कर्म) किनत (क्रिया) (‘राम किताब किन्छ’), तर यी घटकहरूको क्रम परिवर्तन हुन सक्छ ।
  • सामान्य घटक-क्रमलाई हेर्दा अन्य दक्षिण एसियाली भाषाहरू जस्तै मैथिली शीर्षान्त (head-final) भाषा हो; अर्थात् कुनै पदावली अथवा वाक्यांशको प्रधान पद (head) आश्रित पद (dependent) भन्दा पछि आउँछ, जस्तो: किताब (आश्रित पद) किनब (प्रदान पद) (‘किताब किन्नु’)।
  • मैथिली नामानुगामी (postpositional) भाषा हो।
  • विशेषण, सम्बन्धवाचक, निर्धारक र सङ्ख्यावाचक पद नामका अगाडि आउँछ, यथा: नीक घर (‘राम्रो घर’), ओकर घर  (‘उसको घर’), ई घर (‘यो घर’), चारिटा किताब (‘चारवटा किताब’)।
  • विषयापेक्षी प्रश्नवाचक शब्द यथास्थान ( wh-word in situ) मा रहन्छ, यथा: अहाँ की पढ़ब ? (‘तपाईं के पढ्नुहुन्छ?’)।
  • संसारका अधिकांश भाषाहरूभन्दा भिन्न मैथिलीमा एउटा रोचक नियम पाइएको छ, जसलाई ‘उद्देश्य-देखि-उद्देश्य उत्थापन’ (Subject-to Subject Raising) नियम भनिन्छ । यस नियमअनुसार कालित (tensed) आश्रित उपवाक्यको उद्देश्यले माथि उठेर प्रधान उपवाक्यको उद्देश्यको स्थान ग्रहण गर्छ,

क.  लगैत अछि जे अहाँ आई घर नहि जा सकब।

ख.  अहाँ लगैत छी जे ø; आई घर नहि जा सकब।

१८. मैथिलीका अकर्मक र सकर्मक क्रियागामिमा कर्तृवाच्य र कर्मवाच्यको प्रयोग हुन्छ ।

६. निष्कर्ष

माथि उल्लेख भएअनुसार मैथिली भाषा लिखित साहित्य भण्डार र भाषावैज्ञानिक अध्ययनका दृष्टिले समृद्ध रहेको छ । यस भाषाको विकास र सम्बर्द्धनका निमित्त अनेक परिस्थितिहरूले भूमिका खेलेका छन् ।  मैथिली भाषाका वक्ताहरू आफ्नो मातृभाषाको प्रयोग र विकासप्रति प्रतिबद्ध छन्, जुन कुरा कुनै पनि भाषाको संरक्षण र सम्बर्द्धनका लागि अपरिहार्य हुन्छ। नेपाल र भारत दुवै देशका मैथिलीभाषीहरू आफ्नो मातृभाषाको हित र उत्थानका निमित्त तत्पर रहेका देखिन्छन् । नेपालमा मैथिलीभाषीहरूले अन्य अल्पसङ्ख्यक भाषाभाषीहरूसँग मिलेर स्थानीय प्रशासनको (नेपालीका अतिरिक्त) वैकल्पिक काम काजका भाषाको रूपमा प्रयोग गर्नका लागि एउटा संयुक्त प्रयासको थालनी गरेका छन्। तर मैथिलीको विकासका मार्गमा केही बाधक तत्त्वहरू विद्यमान छन् भन्ने तथ्यलाई स्वीकार गर्नुपर्छ । उदाहरणका लागि प्रशासन र शिक्षाको माध्यमका रूपमा प्रयोगको अभाव, अशिक्षा, हिन्दी र नेपाली भाषाहरूसँगको प्रतिस्पर्धा, भाषालाई कुनै खास वर्ग/जातिसँग जोड्ने प्रवृत्ति आदिका कारण वर्तमान समयमा मैथिली भाषाको अपेक्षित रूपमा मैथिलीको प्रयोग क्षेत्र विस्तार हुन सकेको छैन ।

अन्त्यमा, आधुनिक परिपेक्ष्यमा मैथिली भाषालाई अझ विकसित गर्न निम्न कुराहरूमाथि ध्यान दिनु आवश्यक देखिन्छ:

  • नियिमत प्रक्रियाद्वारा मैथिली भाषाको सम्बर्द्धनलाई नियमित गर्नका लागि प्रतिष्ठानको स्थापना गर्ने;
  • संस्कृतजस्तो नभएर एउटा जीवित भाषाका रूपमा विद्यमान भाषिकाहरूको चयन र प्रयोग गर्ने;
  • शैक्षिक प्रयोजनका निमित विभिन्न विधाको निर्माण र मातृभाषामा आधारित बहुभाषिक शिक्षाको कार्यान्वयनमाथि जोड दिने;
  • स्तरीकरण प्रक्रिया निरन्तर जारी राख्‍ने;
  • नरम दृष्टिकोण: स्तरीय भाषिका सँगसँगै अन्य भाषिकाको अस्तित्व पनि स्वीकार गर्ने;
  • मैथिलीमा भाषा प्रविधिको स्थानीयकरणका लागि प्रयास गर्ने ।
    (कुलचन्द्र जनार्दन संस्कृत अध्ययन मण्डलले कुलचन्द्र गौतम अध्ययन प्रतिष्ठानमा २०७४ पुस १३ गते आयोजना गरेको छलफल कार्यक्रममा भाषाविद् प्रा‍ डा. योगेन्द्र प्रसाद यादवद्वारा प्रस्तुत कार्यपत्र)

References

  • Burghart, R. 1992. Introduction to Spoken Maithili in Social Context Parts 1-3. Universität Heidelberg, Südasien-Institut Abteilung für Ethnologue, MS.
  • Chomsky, Noam.1981. Lectures on Government and Binding, Dordrecht: Foris Publications.
  • Colebrooke, H.T.1801.”On the Sanskrit and Prakrit languages”, Asiatic Researches 7: 199-231.
  • Davis, A.I. 1973. “Maithili Sentences.” In Hale, A. (ed.), Clause, Sentences and Diccourse Patterns, Vol.1, Kathmandu: SIL Tribhuvan University Press.
  • 1984. Basic Colloquial Maithili: A Maithili-Nepali-English Dictionary. Delhi: Motilal Banarsidass.
  • Government of Nepal.2001.Population Census, Kathmandu: Central Bureau of Statistics
  • Government of Nepal.2015. Constitution of Nepal, Kathmandu: GoN
  • Grierson, G.A. 1881. An Introduction to the Maithili Dialect of the Bihari Language as Spoken in Bihar Part I: Grammar. Calcutta: The Asiatic Society of Bengal.
  • 1885. Bihar Peasant Life. [second and revised edition 1926] Patna, Superintendent, Government Printing, Bihar and Ouissa.
  • 1903. A Linguistic Survey of India 5/2 [reprinted 1968], Delhi: Motilal Banarsidass.
  • Hoernle, A.F.R. and G.A. Grierson. 1885. A Comparative Dictionary of the Bihari Language 1. Calcutta: Bengal Secretariat Press.
  • Hoernle, A.F.R. and G.A. Grierson. 1889. A Comparative Dictionary of the Bihari Language 2. Calcutta: Bengal Secretariat Press.
  • Hugoniot, Ken.1997.A Sociolinguistic Profile of the Dialects of Ms.
  • Jha, D. 1950. Maithili Bhasha Kos. (‘The Dictionary of Maithili Language’) Patna: Sri Rambhajan Press.
  • Jha, G. 1968. Maithili Udgam o Vikas (‘The Origin and Development of Maithili’). Calcutta: Maithili Prakashan Samiti.
  • 1974.Maithili bhashaka vikas (‘Development, Patna: Bihar Hindi Grantha Academy
  • 1979. Uccatara Maithili Vyakaran (‘Higher Maithili Grammar’). Patna: Maithili Academy.
  • 1999. Maithili-English Dictionary, Darbhanga: Maithili Akademi
  • Jha, G. Maithili Shabdakosh (‘Maithili Dictioanry’), Patna: Maithili academy.
  • Jha, S.1941.”Maithili phonetics”, Indian Linguistics1: 435-459.
  • Jha, S. 1958. The Formation of the Maithili Language. London: Luzac & Co.
  • Mishra, J. 1973, 1995. Brihat Maithili Sabdkosa (‘A Comprehensive Maithili Dictionary’). Fascicule I (1973), Fascicule II (1995). Simla: Indian Institute of Advanced Study.
  • Singh, U.N.1979.Some Aspects of Maithili Syntax:A Transformational-Generative Approach, Unpublished PhD Thesis: University of Delhi.
  • ((with Indresh Thakur). Multingual education advocacy kit (UNESCO) (Maithili translation and adaptation), Kathmandu: UNESCO.
  • Williams, J. 1973. “Clause Pattern in Maithili.” In Trail, ed. Patterns in Clause, Sentence, and Discourse in Selected Languages of Nepal and India, Oklahoma:SIL.
  • Yadav, R. 1984. Maithili Phonetics and Phonology. Mainz: Selden and Tamm.
  • 1996. A Reference Grammar of Maithili. Berlin and New York: Mouton de Gruyter.
  • Yadav, S.K. 1989. “Language Planning in Nepal: An Assessment and Proposal for Reform.” Unpublished Doctoral Dissertation, Jaipur: University of Jaipur.
  • 1998. Issues in Maithili Syntax. Munich: Lincom Europa.
  • (with Shobha Mahato) “Language use and attitudes in Maithili”, report submitted at Linguistic Survey of Nepal, CDL, TU.
  • यादव (निर्माणाधीन).मैथिलीनेपालीअङ्ग्रेजी शब्दकोश, काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठान।